रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदै
काठमाडौं, ९ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
बुटवलको सुप्रिम सहकारीको बचत अपचलनमा मुद्दा दायर भएपछि बयानका लागि पूर्वगृहमन्त्री समेत रहेका लामिछाने आज अदालत उपस्थित हुन लागेका हुन् । उनी मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् । मंगलबार अपराह्न रवि काठमाडौं विमानस्थलबाट केही वकिल र नेता-कार्यकर्तासहित भैरहवा अवतरण भएका थिए ।
यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर हिरासतमुक्त भएका थिए । त्यसलगत्तै उनीविरुद्ध कालीमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अनियमितताको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत उपस्थित भएका थिए ।
काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए ।
यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता गरिएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ अपचलन भएको दाबीसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।