बैंकहरुले लगानी गर्न सकेनन्, बैंकिङ प्रणालीबाट ९० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

बैंकहरुले लगानी गर्न सकेनन्, बैंकिङ प्रणालीबाट ९० अर्ब निक्षेप उठाउँदै राष्ट्र बैंक

काठमाडौं, ९ माघ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन गर्ने कार्य 
जारी राखेको छ  । पछिल्लो समय कर्जाको माग नबढेपछि बैंकिङ प्रणालीमा तरलता अत्याधिक रहेको छ  । 

केन्द्रीय बैंकले आज माघ ९ गते फेरि बैंकिङ प्रणालीबाट एकैपटक ९० अर्ब रुपैयाँ तान्ने भएको छ। अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो।  

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो २१ दिने निक्षेप संकलन उपकरणको माघ ३० गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।