कामना सेवा विकास बैंकलाई अग्राधिकार शेयर जारी गर्न स्वीकृति

कामना सेवा विकास बैंकलाई  अग्राधिकार शेयर जारी गर्न स्वीकृति

काठमाडौं, ९ माघ । कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकबाट अविमोच्य अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्राप्त गरेको छ । विकास बैंकले आफ्नो अठारौं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्वन्धी प्रस्ताव पारित गरि स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गरेको थियो ।

नेपाल राष्ट्र बैंकले मंगलबार अग्राधिकार सेयर जारी गर्नको लागि स्वीकृति प्रदान गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश  थकालीले बताए । नेपाल राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिको तेश्रो त्रयमासिक समिक्षामा गरेको व्यवस्था वमोजिम बैंक तथा वित्तीय संस्थाहरुलाई पुँजीकोष सवलीकरण गर्नको लागि हकप्रद सेयरको विकल्पको रुपमा गत आषाढ १२ गते सर्कुलर जारी गर्दै अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न वाटो खुलाएको थियो ।

नेपाल राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न वाटो खुलाएसँगै बैंकले गत आषाढ १७ गते नै ९ प्रतिशत प्रतिफल दर तोकेर ३५ लाख कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको थियो । उक्त अग्राधिकार सेयर जारी गरे पश्चात बैंकको पुँजीकोष बढ्न गई व्यवसाय विस्तारको अवसर बढ्न जानेछ ।

हालको वजारको तरलताको अवस्था र प्रतिफलको दरलाई हेर्दा संस्थागत लगानीकर्ताहरुलाई ९ प्रतिशत लाभासं प्रदान गर्ने अग्राधिकार सेयर लगानीको उचित माध्ययम हुने बैंकले जनाएको छ ।