रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश योगीको इजलासमा

रवि लामिछानेविरुद्धको मुद्दा न्यायाधीश योगीको इजलासमा

रुपन्देही, ९ माघ । रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ। नारायणबहादुर पहराई समेतको जाहेरीले नेपाल सरकार बादी रहेको सो मुद्दामा रवि र रविना रिमाल समेत २२ जना प्रतिवादी छन्।

उनीविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार अदालतमा मुद्दा दायर भएको थियो।
कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा बुटवल लगेर बयान गराइएको थियो। ।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पूरक उजुरीमा राखिएको हो।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनीमाथि उजुरी गरिएको हो। उनी यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन्।

बुटवल पछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ। ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरे पछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन्।

पहिलोपटक ०८१ वैशाख ३ गते रवि र छविका साझेदार एवं सुप्रिमका सञ्चालक गितेन्द्रबाबु र राई (जिबी), सुप्रिमकै अध्यक्ष ओमप्रकाश गुरुङ, सहकारीका व्यवस्थापक सागर केसी र कुमार रम्तेलसहित २८ जनालाई सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।