प्रधानमन्त्री संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ: शेखर कोइराला
काठमाडौं, ९ माघ । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अध्यादेशबाट देश लगाउन खोज्नु ठीक नभएको बताएका छन् ।
बुधबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले संविधानमा अध्यादेशको व्यवस्था भए पनि त्यसको दुरुपयोग सरकारले गरिरहेको बताएका हुन् ।
‘संविधानमा अध्यादेशको व्यवस्था छ । तर, कस्तो अवस्थामा ल्याउनुपर्छ भन्ने हुन्छ नि,’ उनले भने, ‘देश चल्नै नसक्ने अवस्थामा मात्रै अध्यादेश ल्याउने हो । सामान्य अवस्थामा अध्यादेशमार्फत देश चलाउन खोज्नु ठीक होइन ।’
नेता कोइरालाले कांग्रेस–एमालेको लगभग दुईतिहाइ बहुमतको सरकार भएका बेलामा अध्यादेश ल्याइनु गलत भएको बताए । ‘सरकारसँग लगभग दुईतिहाइ बहुमत छ । ऐन बनाउन दुईतिहाइ बहुमत चाहिँदैन । बहुमतले संसदबाटै पास गर्दै हुन्थ्यो,’ उनले भने ।
कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संयन्त्रमार्फत देश चलाउन खोजेको आरोप पनि लगाए । ‘संयन्त्रले देश चलाउने होइन, देश सरकारले चलाउने हो । तर, प्रधानमन्त्री ओलीजीले संयन्त्रमार्फत देश चलाउन खोज्दै हुनुहुन्छ,’ उनले भने ।