दलितका लागि दलित अभियान: ‘दलितलाई खै ?’ भन्दै निर्वाचन आयोग अगाडि प्रदर्शन
काठमाडौं, ९ माघ । आफ्ना माग सम्बोधन नभएको भन्दै दलितका लागि दलित अभियान नेपालले निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ । उनीहरुले आज काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
४५ औं दिनसम्म सडकबाट उठाएको दलितका मागप्रति सरकारले बेवास्ता गरेको भन्दै अभियान्ताहरुले आयोगको कार्यालय अगाडि विरोध प्रदर्शन गरेको बताएका छन् ।
प्रदर्शनमा सहभागी अभियान्ताहरुले ‘दलितलाई खोई’ भन्ने प्रश्न लेखिएका प्लेकार्ड बोकेका थिए ।
संविधानमा दलितका हक अधिकारको व्यवस्था भए पनि सरकारले कार्यान्वयन नगरेको भन्दै उनीहरुले ‘दलितलाई खोई’ लेखिएको प्लेकार्ड र ब्यानरसहित प्रदर्शन गर्दै आइरहेका छन् ।
मन्त्रिपरिषद् गठन र राजनीतिक नियुक्ति असमावेशी भएको, जातीय भेदभाव तथा छुवाछूत निर्मूल गर्न नीति, कार्यक्रम र बजेट समेत नभएको उनीहरुको गुनासो रहेको छ ।
खगेन्द्र सुनारसहितका युवाहरुले यसअघि माइतीघर मण्डलामा फलामे साङ्लोसहित प्रदर्शन गरेका थिए ।