रुपन्देहीमा न्यायाधीश योगीको इजलासमा रवि लामिछानेको बयान सुरु
काठमाडौँ, ९ माघ । रुपन्देही जिल्ला अदालतमा पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरु भएको छ ।
लामिछानेविरुद्धको सुप्रिम सहकारी ठगीको मुद्दा रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा परेको छ । मुद्दा दर्ता भएपछि लामिछाने आज आफैँ अदालतमा उपस्थित भएका हुन् ।
बयानपछि यो मुद्दामा रूपन्देही जिल्ला अदालतका न्यायधिवक्ता प्रेम पौडेल, सह-न्यायधिवक्ता गोकर्ण घिमिरे, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले बहस गर्ने छन् । लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र वरिष्ठ अधिवक्ता नारायण कँडेलले बहस गर्ने तयारी गरेका छन् ।
लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो ।
लामिछानेका साथै छविलाल जोशी, जीवी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
लामिछाने बयानका लागि मंगलबार नै भैरहवा आएका थिए । उनी कार्यालय खुलेपछि अदालत उपस्थित भएका हुन् ।