रोजगारीका लागि महिनामै साढे ६५ हजार नेपाली विदेशिए

रोजगारीका लागि  महिनामै साढे ६५ हजार नेपाली विदेशिए

काठमाडौं, ९ माघ । मुलुकबाट कामको खोजीमा ६५ हजार ५ सय ११ युवा विदेशिने गरेको तथ्यांक सार्वजनिक भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३ लाख ९३ हजार ६७ जनाले श्रम स्वीकृति लिएका छन् । जसअनुसार, मासिक साढे ६५ हजार युवा काम खोज्दै विदेशीने गरेको पाइएको छ । 

पुस २०८१ मा मात्र ६७ हजार २ सय ५८ युवाले श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागले जनाएको छ । 

२ लाख २५ हजार ६ सय २५ नयाँ श्रम स्वीकृति र १ लाख ६२ हजार ६ सय २८ पुनः श्रम स्वीकृतिमा पुस मसान्तसम्म विदेश गएका छन् । ईपीएस कोरिया र इजरायलमा भने कुल ४ हजार ८ सय १४ युवा गएको तथ्यांकमा देखिन्छ ।

यस अवधिमा नेपालीको प्रमुख गन्तव्य युनाइटेड अरब इमिरेट्स (यूएई) देखिएको छ । यूएईमा पुस महिनामा मात्र २१ हजार १ सय २१ जनाले श्रम स्वीकृति लिएका छन् ।

त्यस्तै साउदी अरब १३ हजार ६ सय ४२, कतार ११ हजार ९ सय ८३ , कुवेत ६ हजार ५०, मलेसिया ३ हजार १ सय ७५, जापान १ हजार ९ सय ४६ र क्रोएसियाका लागि १ हजार १ सय ३४ जनाले श्रम स्वीकृति लिएका छन् ।

पछिल्लो ६ महिनाको तथ्यांक हेर्दा यूएईमा मात्र १ लाख २२ हजार ८ सय २९ जना देखिन्छ । यो संख्या कुल कामदारको ३१.२४ प्रतिशत हो ।

यूएईमा साउनमा १७ हजार ५ सय ४१, भदौ १८ हजार ६ सय ५, असोज १७ हजार ७ सय २४, कात्तिक २३ हजार ६९, मंसिर २४ हजार ७ सय ६९ र पुसमा २१ हजार २ सय ११ जना गएका छन् ।