५२.२६ अंक बढ्यो नेप्से परिसूचक, ९ अर्ब नाघ्यो कारोबार

५२.२६ अंक बढ्यो नेप्से परिसूचक, ९ अर्ब नाघ्यो कारोबार

काठमाडौँ, ९ माघ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवैमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।

तीन सय २२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर ९० हजार छ सय ९६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ को कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । 

सबैभन्दा धेरै अन्य समूह चार दशमलव २४ र लगानी समूह तीन दशमलव ८२ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ३२, विकास बैंक दुई दशमलव ७४, वित्त शून्य दशमलव ८९, होटल तथा पर्यटन दुई दशमलव ७१ र जलविद्युत् समूह दुई दशमलव ७१ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बिमा समूह एक दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य आठ, लघुवित्त एक दशमलव शून्य सात, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बिमा एक र व्यापार समूह दुई दशमलव ४५ प्रतिशतले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको शेयर मूल्य आठ दशमलव २१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु ६१ करोड ३६ लाख ४८ हजार दुई सय २० बराबरको शेयर किनबेच भएको छ । 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख ५६ हजार नौ सय दुई कित्ता शेयर खरिदबिक्री भएको छ ।