एआई प्रवर्द्धनमा ५ खर्ब अमेरिकी डलर लगानी गर्ने ट्रम्पको घोषणा
काठमाडौं, ९ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगलाई बढाउन पाँच खर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेका छन् । यो लगानीबाट एक लाख नयाँ रोजगारी सिर्जना हुने ट्रम्पको घोषणामा उल्लेख छ ।
यो लगानी आगामी पाँच वर्ष प्रविधि क्षेत्रका ठुला कम्पनीहरू ओरेकल, ओपन एआई र सफ्ट बैंक गर्नेछन् । यसका लागि ट्रम्पले नयाँ एआई कम्पनी ‘स्टारगेट’ बनाउने घोषणा गरेका छन् ।
ओरेकलका एक वरिष्ठ अधिकारी एलिसनका अनुसार यो योजना कार्यान्वयनका लागि टेक्सासमा डाटा सेन्टर बनाउने काम पहिलेदेखि सुरु भइसकेको छ। जहाँ १० व्यावसायिक भवन निर्माणाधीन छन् । अझै २० भवन निर्माण हुने उनले बताए ।
ओपन एआई कम्पनीका प्रमुख अल्टम्यानले वर्तमान समयका लागि यो परियोजना निकै महत्त्वपूर्ण रहेको बताए । उनले भने, ‘यो परियोजना ट्रम्पबिना सम्भव पनि छैन ।’
सफ्ट बैंक कम्पनीका अधिकारी मैसायोसी सोनले ट्रम्पको भनाई दोहोर्याउँदै भने,‘यो अमेरिकाको स्वर्णिम कालको सुरुवात हो।’ –बिबिसी