४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाडौँ महानगरपालिकामा निवेदन
काठमाडौँ, ९ माघ । काठमाडौँ महानगरपालिकामा सहकारीका बचतकर्ताले ४ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ बराबरको माग दाबी गर्दै निवेदन दिएका छन् ।
महानगरको सहकारी विभागमा ६ हजार २६६ जना बचतकर्ताले सहकारी संस्थाबाट बचत रकम फिर्ता गराइदिन माग दाबीसहित निवेदन दिएका हुन् ।
अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले उक्त माग दाबी गरेको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिका कार्यक्षेत्र भएका १ हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा १ हजार ७४४ संस्था दर्ता भएका छन् । तर, वार्षिक प्रतिवेदन बुझाउनेको संख्या भने ८३८ मात्र भएको महानगरले जानकारी दिएको छ ।