क्रेटा इलेक्ट्रीकको पार्टस् निकै सस्तो मूल्यमा उपलब्ध हुने दाबी

क्रेटा इलेक्ट्रीकको पार्टस् निकै सस्तो मूल्यमा उपलब्ध हुने दाबी

काठमाडौं, ९ माघ । हुन्डाई इन्डिया लिमिटेडले क्रेटा ईभीको पार्टस् निकै सस्तो मूल्यमा उपलब्ध हुने दाबी गरेको छ । क्रेटा ईभीको ९२ प्रतिशत पार्टस् भारतमै उत्पादन भएको भन्दै मूल्य पनि निकै सस्तो हुने जानकारी गराएको हो । 

 कम्पनीले  भारतमा बनेको पहिलो इलेक्ट्रीक कारमा प्रयोग भएको हाइ भोल्टेज ब्याट्रीसमेत इन्डियामै बनेको दावी गरेको छ । पार्टस् र अन्य कम्पोनेन्ट भारतमै उत्पादन भएकोले सस्तो हुने भएको बताइएको छ । 

सरकारले चलाइरहेको ‘मेक इन इन्डिया तथा ‘आत्मानिर्भर भारत’ योजना अनुसार हुन्डाई मोटर्स इन्डियाले १ हजार २०० भन्दा बढि कम्पोनेन्टहरु भारतमै बनाएर प्रयोग गरेको जानकारी गराएको छ । 

भारतमा १९४ भेन्डरबाट १ हजार २३८ प्रकारका कम्पोनेन्ट लिएको बताइएको छ । कम्पोनेन्टहरुमा अल्टरनेटर, अलोय ह्वील, डिस ब्रेक, क्याटालिक कन्भर्टर, पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरीङ सिस्टम, क्लच एसेम्बलर, पानारोमिक सनरुफ, एनओएक्स सेन्सर जस्ता प्रोडक्ट रहेका कम्पनीले जानकारी दिएको छ । 

हुन्डाईले क्रेटा ईभीमा प्रयोग भएको हाइभोल्टेज ब्याट्री प्याक भारतमै बनाएको हो ।  मोविस इन्डिया लिमिटेडको सहकार्यमा स्थापना भएको ब्याट्री प्याक एसेम्बल प्लान्टबाट वार्षिक ७५ हजार युनिट कारलाई पुग्ने ब्याट्री प्याक उत्पादन गर्न सकिने भनिएको छ ।

ब्याट्री एसेम्बल प्लान्टबाट लिथियम–निकेल–म्याग्नेसिस–कोबाल्ट अक्साइड (एनएमसी) र लिथियम–आयोन–फस्फेट (एलएफपी) ब्याट्री प्याक बनाउन सकिने कम्पनीले जनाएको छ ।