रवि लामिछाने : भोलि उपस्थित हुने शर्तमा निकिता र कानून व्यवसायीको जिम्मा लगाउने अदालतको आदेश
काठमाडौं, ९ माघ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ ।
अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले भोलि बिहान १० बजे अदालत हाजिर हुनेगरी लामिछानेलाई श्रीमती निकिता पौडेल (लामिछाने) र कानून व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको जानकारी दिए ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उक्त आदेश दिएको हो । सुप्रिम सहकारीको बचत रकम अनियमितताको अभियोगमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बिहीबार अदालत हाजिर भएका थिए ।
बिहीबार उनको बयान सकिएको छ । भोलिबाट उनको थुनछेक बहस सुरु हुने सूचना अधिकारी मरासिनीले बताए ।