एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान गर्न उच्च अदालतको परमादेश

एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान गर्न उच्च अदालतको परमादेश

काठमाडौं, १० माघ । नेकपा(एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालत पाटनले  परमादेश दिएको छ।

न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो।

बझाङ घर भएका महरविरुद्ध अनुसन्धानको माग गरी पीडित महिलाले काठमाडौँ प्रहरी परिसरमा जाहेरी दिएकी थिइन्। तर उक्त जाहेरीमा अनुसन्धान नै नगरी प्रहरीले तामेलीमा राखिदिएपछि पीडितले उच्च अदालतमा रिट दायर गरेकी थिइन्।

पीडितको मागअनुसार, बुधबार उच्च अदालतले आदेश जारी गरिदिएको हो।

यस मुद्दामा पीडितको तर्फबाट बहस गरेका अधिवक्ता इन्द्र अर्यालले तामेलीको प्रक्रिया बदर गरी पुनः अनुसन्धान गर्न परमादेश जारी भएको जानकारी दिए। 

महर एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मध्येमा पर्छन्। हाल केन्द्रीय सदस्य रहेका उनी अनेरास्ववियु केन्द्रीय अध्यक्षसमेत भएका थिए।

केही समय कारबाही गरे पनि गत प्रदेश तथा प्रतिनिधि सभाको उपनिर्वाचनको मुखमा उनीमाथिको कारबाही फुकुवा गरी एमालेले पूर्ववत् जिम्मेवारीमा फर्काएको थियो।