भ्रमण दशक कार्यान्वयन प्रक्रिया अगाडि बढाएका छौँ : पर्यटनमन्त्री पाण्डे
काठमाडौँ, १० माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत र संरचनागत सुधारलाई उच्च प्राथमिकता दिएको बताएका छन् ।
अमेरिकी चेन होटल बेस्ट वेस्टर्न प्लस काठमाडौँको आज यहाँ उद्घाटन गर्दै मन्त्री पाण्डेले सरकारले पर्यटन र नागरिक उड्डयन क्षेत्रमा नीतिगत सहजीकरण गरिदिने भन्दै पर्यटकीय पूर्वाधारमा निजी क्षेत्रले उत्साहकासाथ लगानी बढाउनुपर्नेमा जोड दिए ।
पर्यटनमन्त्री पाण्डेले होटल पूर्वाधारमा एकपछि अर्को लगानी बढिरहेको र विभिन्न विदेशी ‘ब्रान्ड’हरु पनि क्रमशः नेपाल भित्रिरहेको भन्दै यसबाट नेपालको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपालको अथाह पर्यटकीय सम्भावनालाई उजागर गर्दै विदेशी पर्यटकलाई आकर्षण गर्न सरकार र निजी क्षेत्रको दरिलो साझेदारिता आवश्यक रहेको औँल्याए ।
पर्यटनमन्त्री पाण्डेले भ्रमण दशक कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढाएको बताए। सरकारले सन् २०२५ देखि २०३५ लाई भ्रमण दशकका रुपमा मनाएर वार्षिक ३५ लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिइएको छ । “भ्रमण दशकको कार्ययोजना निर्माणमा मन्त्रालय जुटेको छ । दशक मनाउँदै गर्दा धेरै मेहेनत गर्नुपर्छ । भ्रमण दशकलाई परिणाममुखी बनाउन बजेटसहित आवशयक व्यवस्थापकीय काम जरुरी हुन्छ”, पर्यटनमन्त्री पाण्डेले भने।