भन्सार विभागका अधिकृत भट्टराईलाई चेम्बरको सम्मान
काठमाडौं, १० माघ । नेपाल चेम्बर अफ कमर्सले ७३औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागका शाखा अधिकृत गोपालप्रसाद भट्टराईलाई बुधबार सम्मान गरेको छ । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले शाखा अधिकृत भट्टराईलाई सम्मान गरेको हो ।
काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले प्रमाणपत्र एवं अर्थसचिव राम प्रसाद घिमिरेले दोसल्लासहित शाखा अधिकृत भट्टराईलाई सम्मान गरे । भन्सार विभागमा उत्कृष्ट सेवा प्रवाह गरेकाले भट्टराईलाई ७३औं अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको चेम्बर अफ कमर्सले जनाएको छ । भन्सार विभागकै सिफारिसका आधारमा शाखा अधिकृत भट्टराइलाई सम्मान गरिएको चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताए ।
भन्सार प्रशासनमा उत्कृष्ट सेवा गर्दै आएका कर्मचारीलाई भन्सार दिवसका अवसरमा चेम्बर अफ कमर्सले प्रत्येक वर्ष सम्मान गर्दै आएको छ ।
सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले भन्सार प्रशासन सुधारमार्फत व्यापार सहजीकरण गरिनुपर्ने बताए । अध्यक्ष अग्रवालले भन्सार प्रशासन सुधार गर्दै सीमामा हुने चोरीपैठारीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
विश्व भन्सार संगठनबाट निर्धारित मूल्यांकन पद्धतिअनुसार भन्सारमा सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिनुपर्ने अध्यक्ष अग्रवालको भनाइ छ । सबै प्रकारका हार्मोनिक कोडहरूमा अध्ययन पुनरावलोकन गरी १० डिजिटको हर्मोनिक कोड कायम गरिनुपर्ने अध्यक्ष अग्रवालले बताए ।