सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने अदालतमा उपस्थित, थुनछेक बहस सुरु हुँदै

सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछाने अदालतमा उपस्थित, थुनछेक बहस सुरु हुँदै

काठमाडौं, १० माघ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिल्ला अदालत रुपन्देहीमा उपस्थित भएका छन् ।

जिल्ला अदालत रुपन्देहीका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले पूर्वगृहमन्त्री लामिछाने बिहीबार अदालतमा उपस्थित भइसकेको  बताए । आजदेखि  थुनछेक बहस हुने भएको छ । जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बहस हुँदैछ ।

पक्ष विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ । स्रेस्तेदार ज्ञवालीले वकालतनामा टिपाउने क्रम अझै जारी रहेकाले कति जनाले बहस गर्ने भन्ने यकिन समेत भइनसकेको बताए । रविसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा चलाइएको छ । 

बुधबार बयानमात्रै सकिएर थुनछेक बहस सुरु नभएपछि उनलाई परिवार र वकिलको जिम्माजमानीमा छाडिएको थियो ।