काठमाडौंको बुढानीलकण्ठबाट चितुवाको उद्धार

काठमाडौंको बुढानीलकण्ठबाट चितुवाको उद्धार

काठमाडौं, १० माघ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ । विहीबार बिहान डिभिजन वन कार्यालय काठमाडौंबाट खटिएको वन कार्यालयको टोलीले डार्ट गरेर चितुवाको उद्धार गरेको हो । 

 करिब साढे ८ बजेतिर चितुवा देखिएको खबर पाएपछि शंकर थापा नेतृत्वमा वन कार्यालयको टोली परिचालित भएको थियो ।

एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको वन डिभिजन कार्यालय काठमाडौं प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिए । 

उद्धार टोलीमा संलग्न सवडिभिजन वन कार्यालय गोकर्णका प्रमुख अशोक पराजुलीले शारीरिक रुपमा स्वस्थ रहेको सो चितुवा शिकारको खोजीमा शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरे ।

उद्धारका क्रममा चितुवालाई नियन्त्रणमा लिन स्थानीयहरू ठूलो संख्यामा उपस्थित भएका थिए । जसका कारण उद्धार कार्य केही चुनौतीपूर्ण भएको थियो ।

उद्धार टोलीमा पशुचिकित्सक डा। अशुतोष भट्ट, वन अधिकृत  अशोक पराजुली, रेञ्जर सतीश दाहाल, जमदारद्व रामचन्द्र सापकोटा र किशोर कुमार थापा, वन रक्षक सुरज पण्डित र सवारी चालक रेशम पौडेल खटिएका थिए । नजिकैको प्रहरी टोली पनि उक्त क्षेत्रमा खटाइएको थियो ।

चितुवाको आवतजावत बढ्दै गएपछि वन विभागले थप निगरानी बढाएको बताएको छ ।