चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण

चिकित्सक लाइसेन्सको परीक्षामा ६८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण

काठमाडौं, १० माघ । नेपाल मेडिकल काउन्सिलको ७१औं लाइसेन्स परीक्षामा ६८ प्रतिशत विद्यार्थी फेल भएका छन् । 

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका हुन् । 

काउन्सिल रजिष्ट्रार डा.सतिशकुमार देवका अनुसार, एमबीबीएस र बीडीएसतर्फ कुल ८४४ जनाले परीक्षामा सहभागी भएका थिए । तर, उत्तीर्ण संख्या मात्र २६२ जना (३१(०४ प्रतिशत) रहेको छ । जसमध्ये ५६२ जना अर्थात् ६८ प्रतिशत अनुत्तीर्ण भएका छन् ।

मेडिकल तर्फ ७७० जनाले फारम भरेकोमा १७ जनाले सहभागिता जनाएनन् । ७५३ जनाले परीक्षामा उपस्थित हुँदा २४१ जना अर्थात् ३२.०१ प्रतिशत मात्र उत्तीर्ण भए । 

बीडीएस तर्फ ९५ जनाले फारम भरेकोमा ४ जना अनुपस्थित रहँदा ९१ जनाले परीक्षामा सहभागिता भए । त्यसमध्ये २१ जना अर्थात् २३.०८ प्रतिशत उत्तीर्ण भए ।

नतिजा कमजोर आएपछि मेडिकल र डेन्टल कलेजको शैक्षिक गुणस्तरमाथि प्रश्न उठेको छ ।