सुर्खेत पुगेर प्रचण्डले भने- सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन

सुर्खेत पुगेर प्रचण्डले भने- सरकारप्रति हाम्रो कुनै अभिरुचि छैन

सुर्खेत, १० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारप्रति आफूहरूको कुनै अभिरुचि नभएको  बताएका छन् ।

बिहीबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले वर्तमान सरकार अवैध तरिकाले बनेकोले धेरै टाढा नजानेमा भने आफूहरू प्रस्ट रहेको जिकिर गरे । 

संविधान र जनताको भावना विपरीत सरकार गठन भएकोले धेरै पर नजाने उनको भनाइ थियो । आफूले भने अनुसार नै सरकार भ्रष्टाचारीलाई बचाउने र बिचौलियालाई पोस्ने काममा लिप्त रहेको प्रचण्डले दाबी गरे । यद्यपि आफूहरू सरकार ढाल्ने प्रक्रियामा नरहेको उनले प्रस्ट पारे । 

देशको राजनीति सहज नदेखिएको भन्दै उनले प्रधानमन्त्री ओलीको क्रियाकलापका कारण एमालेभित्र पनि निकै उकुसमुकुस रहेको बताए । 

ओलीले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै प्रचण्डले  समितिमा गइसकेको विधेयकलाई अध्यादेशबाट शासन गर्नु गलत भएको बताए । आफूहरूले विशेष अधिवेशन बोलाउने भनेपछि मात्र सरकार संसद् बोलाउन तयार भएको उनको आरोप थियो ।