सुप्रिम सहकारी ठगी प्रकरण : रुपन्देहीमा रवि लामिछानेको थुनछेक बहस जारी
काठमाडौं, १० माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा रविको थुनछेक बहस सुरु भएको हो ।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी प्रकरणमा बयान दिन हिजो अदालतमा उपस्थित भएका लामिछानेलाई अदालतले बिहान १० बजे अदालतमा उपस्थित हुने सर्तमा हाजिरी जमानीमा पत्नी निकिता पौडेल र कानून व्यवसायी नारायण कँडेलको जिम्मा लगाएको थियो ।
लामिछाने आज थुनछेक बहसका लागि अदालतमा हाजिर भइसकेका छन् । कास्की प्रहरी हिरासतमै रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ गते बुटवल लगेर बयान गराइएको थियो ।
१ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ अनियमितता अभियोगमा रविसहितका प्रतिवादीमाथि छ ।
यसअघि लामिछाने कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।