एएफआइआरको वार्षिक बैठक तथा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
काठमाडौं, १० माघ । एसियाली देशका बीमा नियामक निकायहरूको संस्था एशियन फोरम अफ इन्स्योरेन्स रेगुलेटर्स (एएफआइआर) को १९औं वार्षिक बैठक र बीमा नियमनसम्बन्धी सातौं उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
नेपाल बीमा प्राधिकरण, इन्टरनेशनल एसोशियसन अफ इन्स्योरेन्स सुपरभाइजर (आइएआइएस), एएफआइआर र फाइनान्सियल स्टेबिलिटि इन्स्टिच्युट (एफआइएस ) अफ द बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बिआइएस ) को संयुक्त आयोजनामा माघ ७ देखि ९ गतेसम्म चलेको यो कार्यक्रममा जलवायु परिवर्तन, प्राकृतिक विपद्, र प्राविधिक विकासबाट उत्पन्न जोखिमहरूलाई सम्बोधन गर्न महत्वपूर्ण छलफलहरू भएका छन्।
कार्यक्रममा नेपाल, भारत, चीन, युएईलगायत विभिन्न देशका प्रतिनिधिहरू, इन्टरनेशनल एसोसिएसन अफ इन्स्योरेन्स सुपरभाइजर (आइएआइएस), र फाइनान्सियल स्टेबिलिटी इन्स्टिच्युट (एफआइएस ) अफ बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बिआइएस ) का उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दहालले सम्मेलनको उद्घाटन गर्दै जलवायु परिवर्तन र प्राकृतिक विपद्का कारण हुने वित्तीय नोक्सानीलाई सम्बोधन गर्न साझा बीमा पद्धतिको विकास अपरिहार्य रहेको बताए।
सम्मेलनमा एएफआइआरअध्यक्ष पिटर कोहिहागेन र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहभागी देशहरूका अनुभव र चुनौतीका विषयमा प्रस्तुति दिएका थिए।
सम्मेलनमा छलफल भएका प्रमुख विषयहरूमध्ये जलवायु परिवर्तनका कारण हुने जोखिमलाई कम गर्न क्षेत्रीय सहकार्य र पारामेट्रिक बीमा पद्धतिको विकासको आवश्यकता औंल्याइएको थियो। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल प्रविधिका कारण सिर्जित जोखिमहरूलाई सन्तुलितरूपमा सम्बोधन गर्न बीमा नियामक निकायहरूको भूमिकाबारे व्यापक छलफल भयो।
अर्थिक रूपमा पछाडि परेका वर्ग र विकट भेगका बासिन्दासम्म बीमाको पहुँच पुर्याउन समावेशी नीति आवश्यक रहेको निष्कर्ष निकालियो। यसैगरी,एएफआइआरले सन् २०२५–२०२९ सम्मका लागि तयार गरेको मार्गचित्र अनुसार अगाडि बढ्ने योजना प्रस्तुत गरियो।
एएफआइआरअध्यक्ष पिटर कोहिहागेनले सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल बीमा प्राधिकरणको नेतृत्वप्रति आभार व्यक्त गर्दै आगामी दिनमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाइने विश्वास व्यक्त गरे।
यो सम्मेलनले एसिया–प्रशान्त क्षेत्रका बीमा नियामक निकायहरूको साझेदारीलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ।