अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने

अमेरिकी फिर्तीपछि अर्बपति ब्लुमबर्गले संयुक्त राष्ट्र जलवायु निकाय कोष जुटाउने

वासिङ्टन, १० माघ । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेरिस सम्झौताबाट दोस्रो पटक अमेरिका फिर्ता हुने घोषणा गरेपछि अर्बपति माइकल ब्लुमबर्गले आफ्नो फाउन्डेसनले संयुक्त राष्ट्र जलवायु परिवर्तन निकायलाई वित्तीय सहयोग गर्ने घोषणा गरेका छन् ।

ब्लुमबर्गको यो हस्तक्षेपले संयुक्त राष्ट्र फ्रेम वर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनएफसिसिसी) लाई पूर्ण रूपमा वित्त पोषण गर्ने लक्ष्य राख्दछ । यद्यपि अमेरिकाले आफ्नो योगदान रोकेको छ ।

अमेरिकाले साधरणतया युएनएफसिसिसी सचिवालयको बजेटको २२ प्रतिशत योगदान गर्दछ । युएनएफसिसिसीको परिचालन खर्च २०२४-२०२५ मा आठ करोड ८४ लाख युरो अनुमान गरिएको छ ।

“सन् २०१७ देखि २०२० सम्म संघीय गैर(कार्यको अवधिमा सहर, राज्य, व्यवसाय र सार्वजनिक क्षेत्रले हाम्रो राष्ट्रको प्रतिबद्धतालाई सम्मान गर्न चुनौती स्वीकार गरेका थिए र अब हामी फेरि तयार छौँ”, जलवायु महत्त्वाकांक्षा र समाधानका लागि संयुक्त राष्ट्रका विशेष दूत ब्लुमबर्गले एक विज्ञप्तिमा भने ।

अमेरिकी संघीय असंलग्नताका कारण सिर्जित खालीपनलाई भर्न ब्लुमबर्गले कदम चालेको यो दोस्रो पटक हो ।

सन् २०१७ मा ट्रम्प प्रशासनले पेरिस सम्झौताबाट पहिलो पटक फिर्ता लिएपछि ब्लुमबर्गले युएनएफसिसिसीलाई सहयोग गर्न एक करोड ५० लाख डलरसम्म दिने वाचा गरेका थिए ।

उनले ‘अमेरिकाको प्रतिबद्धता’ नामक पहल पनि सुरु गरेका छन् । यसले संघीय स्तर बाहेकका अमेरिकी जलवायु प्रतिबद्धताहरूको अनुगमन र प्रतिवेदन गर्दछ । यसले विश्वलाई अमेरिका अझै पेरिस सम्झौताको पूर्ण पक्ष हो जस्तै प्रगति अनुगमन गर्न सक्षम बनाउँछ ।

ब्लुमबर्गले यो पटक पनि अमेरिकी रिपोर्टिङ दायित्वहरू पालना गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याए ।

“यस्ता योगदानहरू संयुक्त राष्ट्र जलवायु परिवर्तन सचिवालयलाई मुलुकहरूलाई पेरिस सम्झौता अन्तर्गत आफ्ना प्रतिबद्धताहरू पूरा गर्न र कम उत्सर्जन, लचिलो, र सुरक्षित भविष्यको लागि अघि बढ्न महत्त्वपूर्ण छन्”, संयुक्त राष्ट्रका जलवायु प्रमुख साइमन स्टिलले भने । -रासस