काभ्रेको महाभारतमा भीषण आगलागी: बस्ती जोगाउन सेना–प्रहरी परिचालन, आगो नियन्त्रण बाहिर

काभ्रेको महाभारतमा भीषण आगलागी: बस्ती जोगाउन सेना–प्रहरी परिचालन, आगो नियन्त्रण बाहिर

काठमाडौं, १० माघ । काभ्रेपलान्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा मंगलबारबाट  लागेको आगो नियन्त्रण बाहिर पुगेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भिर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको जानकारी दिए ।

सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न समस्या भएपनि मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल तथा क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिइएको उनले बताए ।

बिहीबार दिउँसो ३ बजे आगलागीबारे जिल्ला वन कार्यालयमा सुरक्षा प्रमुख लगायतको बैठक बस्दैछ । बैठकले स्थलबाट निभाउन सम्भावना नभए हेलिकोप्टरमार्फत् भएपनि आगो निभाउनका लागि संघीय सरकारलाई अनुरोध गरिने बताइएको छ । 

प्रहरी चौकी फलामेटार, गोकुले तथा डेबिटारको टोली स्थलमा पुगेको जिल्ला प्रहरी प्रमुख बसुन्धरा खड्काले जानकारी दिइन् ।
 जंगलमा आगो लागेपनि बस्तीमा आइनपुगेको 
स्थानीय प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोले जानकारी दिए ।