विर्तामोड महोत्सव : ग्रामीण उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दो

विर्तामोड महोत्सव : ग्रामीण उत्पादनप्रति उपभोक्ताको आकर्षण बढ्दो

झापा, १० माघ  । विर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा कर्णालीको जुम्लादेखि कोशीको ताप्लेजुङसम्मका परम्परागत रुपमा उत्पादित बस्तुप्रति अवलोकनकर्ताको आकर्षण बढेको छ ।

कर्णाली प्रदेशको जुम्लाकी गंगादेवी राउतले माघ ८ देखि १९ गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा जिम्मु, दाँते ओखर, पिठो, जडिबुटीको चिया लगायतका हिमाली कृषि उत्पादनहरु विक्रीका लागि राखेको बताइन्। उनको विक्री कक्षमा कोदो, फापर, मकै, जौ र गहुँको पिठोदेखि मार्सी चामल समेत राखिएका छन् । “झापामा धेरै माग हुने भएकाले आफ्नै गाउँको खेतबारीमा फलेका चीजबीज बेच्न ल्याएकी छु,” राउतले भनिन्–“पिठो, गेडागुडी र मार्सी चामल चाहिँ छिटै बिक्यो, स्टक नै सकिनलाग्यो ।” 

जुम्ला, हुम्ला, मुगु लगायतका हिमाली जिल्लामा खाद्यान्न र गेडागुडी प्रशस्त मात्रामा उत्पादन हुने गरेको जनाउँदै उनले झापासहित पूर्वी तराईका जिल्लामा त्यसको उच्च माग रहेको बताइन््। उनले भौगोलिक विकटता र लामो दूरीका कारण जुम्लादेखि झापासम्म सामान ल्याउँदा ढुवानी खर्च बढ्ने भएकाले बजारिकरणका लागि स्थानीय प्रदेश र पालिकाहरुले अनुदानको व्यवस्था मिलाउन सके राम्रो हुने सुझाव दिइन्।

 महोत्सवमा पोखराकी संगीता गुरुङले भीर मौरीको मह विक्रीका लागि राखेकी छिन् । यो मह डोल्पा र रुकुमबाट ल्याइएको उनले बताइन्। उनको विक्री कक्षमा गण्डकी प्रदेशको उच्च हिमाली क्षेत्रमा उत्पादित लेकाली भेडाको घिउ समेत राखिएको छ । भिर मौरीको मह स्वाद र औषधिका लागि प्रख्यात भएकाले टाढादेखि संकलन गरेर झापाको महोत्सवमा बेच्न राखेको उल्लेख गर्दै उनले थोरै थोरै दवाइका लागि भन्दै किन्नेहरुको भीड लाग्ने गरेको बताइन्। 

ताप्लेजुङ सदरमुकाम फुङलिङकी माया गुरुङले अलैंचीबाट बनेका हस्तकलाका सामान महोत्सवमा ल्याएकी छिन् खोल्साको सुनको रुपमा अलैची अन्तर्राष्ट्रिय बजारमा विक्री हुने गर्छ । त्यसको रेसाबाट हस्तकलाको सामग्री बनाएर बिगतदेखि आफुले बेच्दै आएको उनले बताइन्।“म आफु पनि अलैचीको रेसाबाट सामान बुन्छु र हाम्रा साथीहरुले पनि बनाउनुहुन्छ,” उनले भनिन्–“मेला बजारमा अनेक रुचि भएका मानिसहरु आउने भएकाले अर्गानिक बस्तुबाट निर्मित हस्तकलाका सामान बेच्न ल्याएका छौं ।” आफ्नै गाउँघरको कच्चा पदार्थ उपयोग गरेर उत्पादन गरिएका सामानको प्रयोग बढाउन सके स्थानीय महिलाको शिप र उत्पादनको सम्मानका साथै आयआर्जनमा वृद्धि हुने उनको भनाई छ । उनले शिप सम्बन्धी परामर्श समेत महोत्सवबाटै दिने गरेको बताइन्। 

झापाकी खेमकुमारी ओलीले अर्गार्निक कपुरधुप उत्पादन कसरी गर्न सकिन्छ भनेर महोत्सवमा आउने अवलोकनकर्ताहरुलाई प्रशिक्षित गरिरहेकी छिन्। मेचीनगरको एडभान्स मल्टीप्रोडक्सन कम्पनीका सञ्चालक याम निरौलाले सुपारीका पातबाट बनेका थाल, बटुका, गिलास, चम्चा, दुना, टपरी लगायतका सामान विक्रीका लागि राखेका छन् । अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाइरहेको नेपाली चिया, अलैँची, मसला र जडीवुटीका अनेक उत्पादनहरु राखेर व्यवसायीले महोत्सव सजाएका छन् । महोत्सवमा देशभरका स्थानीय उत्पादनले ठाउँ पाएको र विक्रीबाट व्यवसायीले मनग्य लाभ लिइरहेको महोत्सव आयोजक समितिका संयोजक विशाल थापा बताउँछन् ।

“स्थानीय उत्पादनको बजारिकरण र प्रवर्धनमा सघाउनु नै महोत्सवको मूल उद्देश्य हो,” उनी भन्छन्, “भारत, बंगलादेश, पाकिस्तानको स्टल पनि राखिएका छन् । तर, मुलुकभित्रकै परम्परागत ग्रामीण उत्पादनप्रति अवलोकनकर्ताहरुको भीड देखिन्छ ।”

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले स्वरोजगारमूलक उद्योगका सञ्चालकलाई बिशेष सहुलियतमा महोत्सवमा विक्री कक्ष उपलब्ध गराइएको बताए। वाणिज्य संघ अन्तर्गतकै महिला उद्यमी समूहले अर्गानिक खाजाका रुपमा सेलरोटी र तरकारी सहुलियत मूल्य विक्री गर्दै आएको समूहकी अध्यक्ष राधिका चुडाल हुँमागाईले जानकारी दिइन् । 

दुई लाख अवलोकनकर्ता भित्राउने लक्ष्यका साथ सञ्चालित महोत्सवमा १५० वटा विक्री कक्ष रहेका छन् । अवलोकनकर्तालाई आकर्षित गर्नका लागि हरेक दिन महोत्सवमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने गरेको आयोजकले जनाएको छ ।