सरकारले रोजगारी दिन सक्दैन, दिन्छु भन्यो भने नपत्याउनु : गगन थापा

सरकारले रोजगारी दिन सक्दैन, दिन्छु भन्यो भने नपत्याउनु : गगन थापा

काठमाडौं, १० माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि नसक्ने बताएका छन् ।

प्रधानमन्त्रीले वर्षको करिब बढीमा २० हजारलाई भन्दा रोजगारी दिन नसक्ने उनले दाबी गरेका हुन् । 

बिहीबार नवलपरासीस्थित आदर्श क्याम्पस भवनको शिलन्यास कार्यक्रममा महामन्त्री थापाले भने, ‘नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी दिनुपर्छ । मानौं कोही प्रधानमन्त्री भयो, उसले सबैलाई नेपालमा रोजगारी दिन्छु भन्यो भने पाँच लाख रोजगारी सिर्जना हुनुपर्छ । त्यो प्रधानमन्त्री भएको मान्छेले कहाँ रोगजारी सिर्जना गर्नसक्छ । प्रहरी, सेना, शिक्षकमा जागिर खुलाउँछ, अस्पतालमा करार राख्छ सबैतिर गरेपनि मुस्किलले २० हजार नाघ्दैन । ४ लाख ८० हजार मान्छे बाँकी रहन्छन् । त्यो मान्छेहरुलाई काम कसले दिन्छ ।’

उनले भने, ‘काम जहिले पनि निजी क्षेत्रले दिने हो । सबैतिर हो, सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनु । सरकारले रोजगारी दिन्छु भने पनि कसैले पनि सक्दैन । सरकारले केवल वातावरण बनाउने मात्रै हो ।’