३८ लाख ठगीको अभियोग लागेका ऋषिकेशका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धरौटीमा छाड्ने आदेश

३८ लाख ठगीको अभियोग लागेका ऋषिकेशका पूर्वस्वकीय सचिव अनिललाई ५ लाख धरौटीमा छाड्ने आदेश

काठमाडौं, १० माघ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेललाई ५ लाख धरौटीमा रिहा गर्न  जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले बिहीबार व्यक्ति ठगी मुद्दामा ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

पोखरेलविरुद्ध बुधबार ठगी मुद्दा दायर भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । बिहीबार बयान र थुनछेक बहसपछि ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको उनले जानकारी दिए ।

पोखरेलमाथि पार्टीको कोटामा एमबीबीएसमा नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ का बौआलाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको अभियोग छ । 

गत २५ पुसमा पोखरेल पक्राउ परेका थिए । प्रहरीले पोखरेलविरुद्धको अनुसन्धान १२ दिनमै सकेर मंगलबार अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको थियो ।

बुधबार सरकारी वकिलको कार्यालयले पोखरेलविरुद्ध ठगी भएको ३८ लाख ८० हजार रकम फिर्ता र सोही बराबरको बिगो र ठगी मुद्दामा अधिकतम कैदको दाबीसहित मुद्दा दायर गरेको थियो ।