नेपाल फाइनान्सको वित्तीय स्थितिमा अझै सुधार देखिए, खराब कर्जा १०.४६ प्रतिशत

नेपाल फाइनान्सको वित्तीय स्थितिमा अझै सुधार देखिए, खराब कर्जा १०.४६ प्रतिशत

काठमाडौं, ११ माघ । नेपाल राष्ट्र बैंकले टेकओभर गरेर सञ्चालनमा ल्याइएको नेपाल फाइनान्स लिमिटेडले आफ्नो वित्तीय स्थितिमा अपेक्षित सुधार गर्न सकेको देखिएको छैन । 

करिब ७२ करोड रूपैयाँ बराबरको चुक्ता पुँजी रहेको नेपाल फाइनान्स  समस्याग्रस्त अवस्थाबाट फुकुवा भएयता समेत वित्तीय विवरणमा हालसम्म पनि खासै सुधार नदेखिएको हो।

पछिल्लो समय सेयर बजार परिसूचक नेप्से ३००० बिन्दुमा पुगेको समयमा ३ सय १६ रूपैयाँबाट बढेर २ हजार ६ सय १४ रूपैयाँ पुगेको थियो। राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेर सेयर कारोबार रोक्का गरेसँगै नेपाल फाइनान्सको सेयर मूल्य घटेर ७ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

नेपाल फाइनान्सको सेयर मूल्य यसरी अस्वाभाविकरुपमा बढ्नुपर्ने कुनै पनि भरपर्दो कारण भने देखिँदैन। एकपटक समस्याग्रस्त भइसकेको यस फाइनान्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा करिब २६ करोड १९ लाख रूपैयाँ वितरणयोग्य घाटामा रहेको छ।

यस आधारमा हेर्दा यस फाइनान्स कम्पनीले थप केही वर्ष प्रतिफल दिनसक्ने स्थिति छैन। वितरणयोग्य घाटामात्रै होइन यस फाइनान्स कम्पनीको खराब कर्जा १०।४६ प्रतिशत पुगेको छ।

पुरानो कर्जा उठेको भन्दै फाइनान्सले इम्पियरमेन्ट चार्ज घटाएर खुद नाफा बढाए पनि अन्य सूचकहरु खासै उत्साहप्रद देखिँदैन।

फाइनान्सको यस वर्षको दोस्रो त्रैमासमा २ करोड ५ लाख रूपैयाँ खुद नाफा रहे पनि विगतको सञ्चित घाटा २४ करोड ४६ लाख रहेको छ।