रवि लामिछानेको मुद्दामा जाहेरवालाको तर्फका वकिलको बहस जारी
बुटवल, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको थुनछेकमा अहिले जाहेरीवालाको तर्फबाट बहस सुरु भएको छ ।
आज जिल्ला अदालतका पाँच नम्बर न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा लामिछानेविरुद्ध थुनछेक बहसमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस सुरु गरेका हुन् । बहस सुरु भएको जिल्ला अदालत रुपन्देहीका रजिस्टार यज्ञमूर्ति ज्ञवालीले बताए ।
त्यसपछि रवि पक्षका ८ जना कानुन व्यवसायीले बहस गर्नका लागि नाम टिपाएको उनले रातोपाटीलाई बताए । उनीहरूको बहस सकिएपछि सरकारी वकिलहरूको सवाल जवाफ हुने समेत उनले बताए । बिहीबार वादीका तर्फबाट ८ जना सरकारी वकिलले बहस गरेका थिए । जाहेरवालाको तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका थिए ।
गोर्खा मिडिया नेटवर्क मार्फत बुटवलको सुप्रिम सहकारीको बचत अपचलन सम्बन्धी प्रकरणमा जोडिएका लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा सहकारी ठगी र सङ्गठित अपराधको मुद्दा गत आइतबार दर्ता भएको हो ।
सोही मुद्दाको थुनछेक बहसका लागि लामिछाने बुधवार आफैँ अदालतमा हाजिर भएका थिए । बुधवार बयान सकेर बिहीबारदेखि थुनछेक बहस सुरु भएको हो । लामिछानेका तर्फबाट सुशील पन्त , नारायणदत्त कँडेल, सुनिता राउत, सुरेन्द्र थापा, सञ्जय गोले लगायतका वकिलहरू पनि लामिछानेको बहस गर्ने तयारी गरेका छन् ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका लामिछाने, पूर्व डिआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीवी) राई सहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा गत आइतबार पूरक मुद्दा दर्ता भएको हो । ती २२ जनाबाट सामूहिक रूपमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो दाबी गरिएको छ ।