महाभारतको जंगलमा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर निभाइँदै

महाभारतको जंगलमा लागेको आगो हेलिकोप्टरबाट पानी खन्याएर निभाइँदै

काभ्रे, ११ माघ । काभ्रेको खानीखोला र बेथानचोक गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगलमा  गत मंगलबार दिउँसो २ बजेबाट लागेको आगो आज हेलिकोप्टरबाट निभाउन थालिएको छ ।

आगलागी भएको चार दिनसम्म पनि यहाँको डढेलो नियन्त्रणमा आउन नसकेपछि हेलिकोप्टरमार्फत निभाउन लागिएको हो । 

शुक्रबार दिउँसोबाट हेलिकोप्टरमार्फत् पानी लगेर खन्याएर आगो नियन्त्रणको प्रयास भइरहेको बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

बेथानचोककै वडा नम्बर २ मा पर्ने गुवाभन्ज्याङस्थित पार्कमा बनाइएको पाखेरीबाट पानी लिएर हेलिकोप्टरले आगलागी भएको स्थानमा खन्याउन थालेको हो ।

सिम्रिक एयरको हेलिकोप्टरबाट आगलागी नियन्त्रणका लागि पानी खन्याउने काम भइरहेको अध्यक्ष अधिकारीले बताए ।

वन्यजन्तु र जडिबुटीका लागि प्रख्यात मानिने यस जंगलको एक सय हेक्टरभन्दा बढी भू–भाग आगलागीबाट सखाप भइसकेको बताइएको छ ।