सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन छ : प्रधानमन्त्री ओली

सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताएका छन् । 

पाल्पाको तिनाउ गाउँपालिकाको दोभानस्थित प्रशासकीय भवनको आज ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्वहरुले चलाएको हल्लाको पछि नलाग्न आग्रह गरे ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को निर्वाचनसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उनले स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्यस्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट जनतालाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गरे। पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र रुपमा अगाडि बढाउन उनले आग्रह गरे। 

केही व्यक्तिले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको अर्थ नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पारे ।