सरकारको नेतृत्व गरेकाले आफैंमाथि अनुसन्धान गरेर देखाउन प्रचण्डको चुनौती
काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सरकारको नेतृत्व गरिरहेकाहरूले आफैंमाथि अनुसन्धान गरेर देखाउन चुनौती दिएका छन् ।
पार्टीको तुलसीपुर नगर कमिटीले आयोजना गरेको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले सो चुनौती दिएका हुन् ।
‘मैले सरकारमा रहेर आफ्नो अर्काको नभनी कारबाहीको प्रक्रिया अघि बढाएँ । अनुसन्धान खटिएका अफिसरहरूलाई अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै देखिएपनि कारबाही अगाडि बढाउनु भनेँ,’ प्रचण्डले सम्बोधनको क्रममा भने, ‘म चुनौतीका साथ भन्न चाहान्छु । अहिले सकारको नेतृत्व गर्नेले मैले झैँ आफैंलाई अनुसन्धान गरेर देखाउनू ।’
प्रचण्डले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल पनि गरेका छन् ।
‘हामीलाई ६४ मा मत दिनुभएका जनतालाई मेरो अनुरोध छ । आग्रह छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याउँछौं । तपाईंहरूले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं । त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नेछ,’ प्रचण्डले भने ।
तेस्रो पटक सरकारको नेतृत्व गर्ने अवसर प्राप्त हुँदा आफूले यसअघिका कमिकमजोरीलाई सच्याएर जनताको पक्षमा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको उनको दाबी थियो ।
‘सरकारबाट बाहिएपछि म जहाँ गएको छु । जनताको अपार माया पाएको छु । म यो माया र विश्वासले खुसी भएको छु । म ७० वर्षको भएँ । मैले देश र जनताको पक्षमा काम गर्ने संकल्प लिएको छु,’ प्रचण्डले भने ।