संगीत रोयल्टी नतिर्ने होटल, रेस्टुरेन्ट र ब्यांक्वेटविरुद्ध प्रहरीमा उजुरी
काठमाडौं, ११ माघ । संगीत रोयल्टी नतिर्ने विभिन्न १८ होटल, रेन्टुरेन्ट र ब्यांक्वेटविरुद्ध संगीत रोयल्टी संकलन समाज नेपालले प्रहरीमा उजुरी दिएको छ । ठमेलस्थित एलओडी, माइकल ग्रिल्स, नक्सालको रोड हाउस क्याफे, हिमालयन जाभा कफी, क्लब फरेनहाइटलगायत राजधानीका १८ होटल, रेस्टुरेन्ट र ब्यांक्वेटविरुद्ध प्रहरीमा उजुरी परेको हो ।
उपत्यकास्थित नाम चलेका होटल र रेस्टुरेन्टविरुद्ध प्रहरीमा उजुरी दिएको समाजका महासचिव बी पाण्डेले बताए ।
प्रहरीमा उजुरी आएको र आफूहरू अनुसन्धानको क्रममा रहेको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता तथा डीएसपी पूर्णिमा चन्दले बताइन् । ‘प्राविधिक विषय भएकाले हामी अनुसन्धानको क्रममा छौं । उजुरी प्राप्त भएको छ’ उनले भनिन् ।
रोयल्टी संकलन समाजका महासचिव पाण्डेले २१, ७ र ३ दिने अल्टिमेटमसहित रोयल्टी तिर्न पत्राचार गरेपनि समयमा रोयल्टी नतिर्नेविरुद्ध आफूहरू प्रहरीकहाँ पुगेको बताए । ‘हामीहरू कानूनअनुसार मुद्दा प्रक्रियालाई अघि बढाउँछौं’ पाण्डेले भने, ‘रोयल्टी नतिर्नेविरुद्ध उजुरी दायर हुने कार्य क्रमिकरुपमा अघि बढ्नेछ ।’ रोयल्टी तिर्न आग्रह गर्दै समाजले १९ हजार संगीतका उपभोक्तालाई पत्राचार गरेको उनले बताए ।
‘कानूनअनुसार उहाँहरूसँग क्षतिपूर्ति र रोयल्टी उठाउने कार्य हुन्छ’ पाण्डेले भने, ‘कपिराइट हनन गर्ने अधिकार कसैलाई छैन ।’ सार्वजनिक यातायातले भने रोयल्टी तिर्न थालेका उनले बताए ।