तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने

तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति गरिसक्ने

काठमाडौं, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताएका छन् । 

बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधन सभालाई शुक्रबार भर्चुअल माध्यमबाट मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताएका हुन् । उनले आगामी तीन वर्षभित्र बुटवल–गोरुसिङगे सडक खण्ड विस्तार गरिसक्ने घोषणा गरे । 

आजै सिद्धबाबा सुरुङमार्गको सफलतापूर्वक ब्रेक थ्रु  हुनु एक उपलब्धि भएको बताउँदै उनले उच्च संकल्प र आँटका साथ देशको विकास आफैले गर्नुपर्ने जोड दिँदै यसमा विदेशी सहयोगी हातहरूको पनि साथ लिने स्पष्ट गरे ।

प्रधानमन्त्री ओलीले धर्म, जात र अनेक नाममा विभाजन र भ्रम फैलाउन खोज्ने पक्षहरूलाई बेवास्ता गरी एकताबद्ध भई देश बनाउने मार्गमा अग्रसर हुन सबैमा आग्रह गरे । 

कार्यक्रममा उपप्रधानमन्त्रीहरू प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेललगायतले सम्बोधन गरेका थिए ।