तनहुँमा निर्माणाधीन सडकको काम सुस्त, गति बढाउन निर्देशन
तनहुँ , १२ माघ । तनहुँको व्यास नगरपालिकाका चार वटा वडा जोड्ने सडकको काम सुस्त भएको छ । गएको जेठदेखि शुरू भएको सडकको स्तरोन्नतिको काम सुस्त भएपछि गति बढाउन व्यास नगरपालिकाले सम्बन्धित निर्माण व्यवसायीलाई निर्देशन दिएको छ ।
विश्व बैङ्कको सहयोगमा शहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाअन्तर्गत व्यास नगरपालिका–७, ९, १० र ११ जोड्ने पराशरमार्ग स्तरोन्नतिको काम भइरहेकामा अहिलेसम्मको भौतिक प्रगति ९ दशमलव १३ र वित्तीय प्रगति ७ दशमलव ४६ प्रतिशत रहेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए।
बुल्दीखोला–बेलटारी–फराकचौर–अधेरीभञ्ज्याङ–कुमालगाउँ–समता स्कूल–कलेस्ती सडक जोडिने खण्डमा १० दशमलव ५५ किलोमिटर दूरी कालोपत्र हुनेछ । यो सडक स्तरोन्नतिका लागि गएको वैशाख १६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।
सडक स्तरोन्नतिका लागि ४० करोड ८३ लाख रुपैयाँमा निर्माण कम्पनी बिकेएचटिडिसिएल एसिपिएल जेभी कालीमाटीसँग सम्झौता भएको थियो । निर्माणका लागि २०८२ असारसम्म म्याद रहेको छ ।