बिमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाको आवेदन
काठमाडौं, १२ माघ । नेपाल बिमा प्राधिकरणको अध्यक्ष बन्न १२ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा कमलप्रसाद रेग्मी, डा. देवराज रोका, शरद ओझा, चिरञ्जीवी चापागाईं, विष्णुबाबु मिश्र, बुद्धकाजी श्रेष्ठ, दामोदर बसैला, डिमप्रसाद पौडेल, रामशरण पुडासैनी, विक्रान्त पाण्डे, रमण नेपाल र विनोदकाजी श्रेष्ठ छन् ।
बिमा ऐनअनुसार बिमा प्राधिकरणको अध्यक्ष पद रिक्त हुनु एक महिनाअगावै नयाँ नियुक्ति गर्नुपर्ने प्रावधान छ । गत ९ पुसको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको थियो ।
प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्मा नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीको संयोजकत्वमा मन्त्रालयका अर्थ सचिव र बिमा क्षेत्रसँग सम्बन्धित विशेषज्ञ सदस्य रहेको समितिले आवेदन खुलाएको थियो ।