वीरगञ्ज नाकाबाट बढ्यो निर्यात, ६ महिनामा २९ अर्ब २७ कारोडको नेपाली वस्तु निर्यात

वीरगञ्ज नाकाबाट बढ्यो निर्यात, ६ महिनामा २९ अर्ब २७ कारोडको नेपाली वस्तु निर्यात

वीरगञ्ज (पर्सा), १३ माघ । पर्सा वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को छ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए। ‘गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,' उनले भने,‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’

गत आर्थिक वर्षको छ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो ।