कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

कोइलाबास नाकामा चहलपहल घटेसँगै राजस्व पनि घट्यो

दाङ, १३ माघ । कोइलाबास भन्सार कार्यालयमा राजस्व संकलन  घटेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा रु.७१ लाख मात्र राजस्व संकलन गरेको छ ।

नाकामा भारतीय पक्षबाट कडाइ गरिँदा आवतजावत कम भएकाले राजस्व पनि कम उठेको कार्यालयले जनाएको छ । “भारत प्रवेश गर्दा कडाइ गरेका कारण यहाँबाट आवतजावत गर्नेको सङ्ख्या घट्दै गएको छ”, कार्यालयका निमित्त प्रमुख वसन्त रजौरेले भने । यो बाटो भएर भारत प्रवेश गर्दा नेपाली नागरिकता, लाइसेन्सजस्ता सक्कली कागजपत्र भारतीय सुरक्षाकर्मीले राखिदिने गरेको स्थानीयको गुनासो  रहेको   छ ।

गत साउनमा १२ लाख राजस्व उठाउने लक्ष्य कार्यालयले लिएको थियो । यसमा रु। नौ लाख राजस्व उठेको थियो । यो लक्ष्यको ७६ प्रतिशत हो । लक्ष्यभन्दा रु. दुई लाख ७६ हजार कम राजस्व संकलन भएको छ । भदौमा रु.१३ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । यसमा रु. छ लाख राजस्व संकलन भएको छ । लक्ष्यभन्दा रु.सात लाख कम राजस्व संकलन भएको छ । असोजमा रु.१३ लाख २६ हजार संकलन गर्ने लक्ष्य लिएकामा रु.सात लाख संकलन भएको छ । यो लक्ष्यभन्दा रु. छ लाख कम हो ।

कात्तिकमा १२ लाख ८९ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकामा रु.नौ लाख संकलन भएको छ । यो ७०.९० प्रतिशत हो । तर पनि लक्ष्यभन्दा रु.तीन लाख कम राजस्व संकलन भएको छ । मङ्सिरमा रु. १३ लाख ६८ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकामा रु। नौ लाख संकलन भएको छ । यो ६५.१४ प्रतिशत हो । लक्ष्यभन्दा रु. चार लाख ७६ कम राजस्व संकलन भएको छ ।

पुसमा रु.१३ लाखको लक्ष्य लिएकामा रु.३० लाख संकलन गरिएको छ । यो लक्ष्यको दुई सय २९ दशमलव ९२ प्रतिशत बढी हो । लक्ष्यभन्दा रु.१७ लाख बढी राजस्व संकलन भएको निमित्त प्रमुख रजौरे बताउँछन् । भन्सार कार्यालयले चालु आवमा रु.एक करोड ६५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको निमित्त प्रमुख रजौरेले बताए ।

कोइलाबास भन्सारको राजस्वको स्रोत भनेको अस्थायी पैठारी हो । भारतीय सवारीसाधनबाट उठाउने राजस्व नै प्रमुख स्रोतका रूपमा लिइएको उनले बताउँछन् । भारतबाट नेपाल आउने गाडीलाई दैनिक रु। छ सय र मोटरसाइकलबाट प्रतिदिन रु। दुई सय लिने गरेको उनले बताए ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनबाट र केही खाद्यान्नलगायत अन्य सामग्रीबाट उठ्ने गरेको भन्सार कार्यालयले जनाएको छ । भारतबाट कोइलबास क्षेत्रसँगै रामजानकी मन्दिर, प्युठानको स्वर्गद्वारी मन्दिर, दाङको चौघेरा मन्दिरलगायत ठाउँमा पूजापाठ तथा घुमफिरका लागि आउने मानिसले प्रयोग गर्ने सवारीसाधनबाट बढी मात्रामा राजस्व संकलन हुने गरेको कार्यालयले जनाएको छ ।