पाथीभरा झडप अपडेट: ३ जना गम्भीर घाइतेलाई सैनिक हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

पाथीभरा झडप अपडेट: ३ जना गम्भीर घाइतेलाई सैनिक हेलिकप्टरमार्फत काठमाडौं ल्याइँदै

काठमाडौं, १३ माघ । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा प्रहरी र स्थानीयबीच भएको झडपका क्रममा गोली लागेर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं ल्याइने भएको छ ।

प्रहरीको गोली लागेर गम्भीर घाइते भएका यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङ्वालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको हो । 

शनिबार बेलुका पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा रहेका पक्षसँग भएको झडपमा प्रहरीले गोली चलाउँदा तीन जनालाई गम्भीर घाइते भएका थिए ।

घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै  विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।

अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडौं लैजाने तयारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । केबलकारका कारण पहिचान मेटिने भन्दै आन्दोलन सुरु गरेको ‘नो केबलकार समूह’ आइतबारदेखि थप आन्दोलन गर्ने तयारीमा रहेको थियो । 

आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुढा प्रहार गरेका थिए  । त्यसपछि प्रहरीले तनावपूर्ण स्थीतिलाई नियन्त्रण लिन गोली चलाएको थियो ।

झडपमा केही प्रहरी पनि घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलले जानकारी दिए ।