काम गर्ने अवसर पाइएन भनेर हामीले गनगन गर्न मिल्दैन: गगन थापा
काठमाडौं, १३ माघ । प्रमुख सत्तासाझेदार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काम गर्ने अवसर पाइएन भनेर कांग्रेसले गनगन गर्न नमिल्ने बताएका छन् ।
मीनकुमारी राणाको प्रतीमा अनावरण, पुरस्कार तथा छात्रवृत्ति वितरण समारोहमा सम्बोधन गर्नेक्रममा महामन्त्री थापाले यस्तो धारणा राखेका हुन् ।
काम गर्नका लागि छोटै अवधि पनि पर्याप्त हुने उनले बताए । अब कांग्रेस र एमालेले काम गर्ने समय पाइएन भन्न नमिल्ने महामन्त्री थापाले तर्क राखे ।
महामन्त्री थापाले भने,‘कांग्रेस र एमालेले २०८४ को निर्वाचनको चर्चा गर्नै मिल्दैन । त्यहाँसम्म पुग्नका लागि अझै तीन वर्ष छ र काम गर्नका लागि यो अवधि पर्याप्त छ । यो अवधिमा काम गर्न सकेनौँ भने अरु कुराको गनगन गर्न पाइँदैन ।’
संघ, प्रदेश र तीन सय ३० पालिकामा कांग्रेस सरकारमा रहेको भन्दै उनले ती सरकारलाई प्रभावकारी बनाउनतिर कांग्रेसको ध्यान जानुपर्ने बताए ।
यस्तो अवस्थामा पनि केही गर्न नसके आफूहरू हुनुको कुनै अर्थ नहुने उनले बताए। जनताले कांग्रेसलाई धेरै दिएको भन्दै महामन्त्री थापाले जनताले दिने कुरामा अब पनि चुक्न नहुने उनको भनाइ छ ।