अखिल क्रान्तिकारीमा फेरि लफडा, मतगणना अनिश्चितकालका लागि स्थगित

अखिल क्रान्तिकारीमा फेरि लफडा, मतगणना अनिश्चितकालका लागि स्थगित

काठमाडौं, १३ माघ । अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलनअन्तर्गत उपत्यका विशेष र विश्वविद्यालय प्रदेशको मतगणना अनिश्चितकालका लागि स्थगित भएको छ । मसी विवाद भएपछि विश्वविद्यालय र उपत्यका विशेष प्रदेशको मतगणना स्थगित भएको हो । 

आइतबार प्रेस विज्ञप्ति जारी गरेर मतगणना अनिश्चित समयको लागि स्थगित भएको जानकारी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘मिति २०८१ माघ १२ गते शनिबारका दिन सम्पन्न भएको उपत्यका विशेष प्रदेश र विश्वविद्यालय प्रदेशका मतदान केन्द्रको निर्वाचनको मतगणना विशेष कारणवश स्थगित भई आज मिति २०८१ माघ १३ गते ११ः०० बजेदेखि सुरु गर्ने भनिएकोमा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सूचित गरिन्छ ।’

अखिल क्रान्तिकारीको ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यका लागि शनिबार निर्वाचन भएको थियो । मतगणनामा सदर र बदर मत केलाई मान्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि मतगणना प्रभावित भएको हो । शनिबार बेलुकादेखि नै सहमतिको प्रयास भए पनि त्यसले सार्थकता पाउन सकेको छैन ।

मतदान केन्द्रमा भोट हाल्नका लागि रातो मसीको मार्कर राखिएको थियो । तर, निर्वाचन समितिले मतदानमा कालो मसी पनि प्रयोग भएको बताएपछि उम्मेदवारका प्रतिनिधिबीच कसलाई सदर मत मान्ने भन्नेमा विवाद भएको हो ।