नेपाली आकाशमा आज एकैसाथ ६ ग्रह देखिँदै
काठमाडौं, १४ माघ । आज (सोमबार) नेपाली आकाशमा ६ वटा ग्रहहरू नागो आँखाले नै देख्न सकिने भएको छ । प्रकाशमा कुनै प्रकारको प्रदूषण नभए सोमबार साँझ नागो आँखाले नै ती ग्रहहरूलाई काठमाडौंबाट नियाल्न सकिनेछ ।
कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सग्रहालय विकास समितिका अनुसार चारवटा चम्किला ग्रह (सूर्यको प्रकाशको परिवर्तनले गर्दा) शुक्र, मगल, बृहस्पति तथा शनि ग्रह तथा दुईवटा मधुरा ग्रह अरुण र बरुण एकसाथ अवलोकन गर्न सकिनेछ ।
समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार, सुरक्षाकर्मीहरू कवाज खेल्न पंक्तिबद्ध भएजस्तै माघ महिनाभरि हाम्रो सौर्यमण्डलका महत्त्वपूर्ण ग्रहहरू पंक्तिबद्ध भएर आकाशमा नृत्य गरिरहेको स्पष्ट रूपमा देख्न सकिन्छ । उत्तरी गोलार्धबाट प्रत्यक्ष रूपमा अवलोकन गर्न सकिने यस रोचक घटनालाई नेपालबाट पनि अवलोकन गर्न सकिनेछ ।
माघ दोस्रोदेखि चौथो साताको समयमा हाम्रो आकाशमा शनि, शुक्र बृहष्पति र मंगल ग्रहहरूलाई लामबद्ध भएर एउटै पंक्तिमा आकाशमा नृत्य गरिरहेको प्रतित हुन्छ ।
कीर्तिपुरस्थित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले सोमबार साँझ ६ बजेदेखि ८ बजेसम्म टेलिस्कोपको सहायताले विभिन्न ६ ग्रहलाई निःशुल्क देखाउने भएको छ ।
शर्माका अनुसार ती ग्रह मध्यरातमा उदाउनुको साथै सूर्य अस्ताउनेबित्तिकै पनि सफा आकाशमा सहज रूपमा दक्षिण पश्चिम दिशादेखि उत्तरपूर्व दिशामा देख्न सकिन्छ । मौसम अनुकूल रहेमा हल्का फिक्का रूपमा रहेको अरुण र वरुण ग्रहलाई पनि टेलिस्कोप र बाइनाकुलरको सहायताले अवलोकन गर्न सकिनेछ । यी ग्रहहरू पंक्तिबद्ध रहे तापनि एकैसाथ तस्बिर लिन भने कठिन देखिन्छ ।