आईपीओ निष्कासनको पाइपलाइनमा ८२ वटा कम्पनी
काठमाडौं, १४ माघ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा साधारण शेयर (आईपीओ) निष्कासनको पाइपलाइनमा ८२ वटा कम्पनी रहेका छन् ।
नेपाल धितोपत्र बोर्डको कार्यबाहक अध्यक्षको रुपमा सन्तोषनारायण श्रेष्ठले जिम्मेवारी सम्हालेको महिना बित्दा पनि कुनै कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएका छैनन् ।
अध्यक्ष नियुक्तिपछि पाइपलाइनमा रहेका आईपीओ निष्कासन धमाधम हुने चर्चा चलेको थियो । तर, अध्यक्ष श्रेष्ठ नियुक्ति हुनुअघि नै गार्डिन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनको स्वीकृति पाएको थियो । त्यसयता कुनै कम्पनीले स्वीकृति पाएका छैनन् ।
उनी अध्यक्ष भइसकेपछि हकप्रद तथा एफपीओ निष्कासन कार्य भएका छन् । अहिले बोर्डमा आईपीओ निष्कासनको पाइपलाइनमा ८२ कम्पनी छन् । यी कम्पनीले कुल ४९ अर्ब ८१ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति मागेका हुन् ।
पाइपलाइनमा रहेकामध्ये अधिकांश हाइड्रोपावर सेक्टरका कमपनी छन् । कुल ४१ वटा हाइड्रोपावर कम्पनीले १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि अनुमति माग गरेका छन् ।
त्यस्तै, होटल तथा पर्यटन सेक्टरका ७ कम्पनीले ३ अर्ब ३१ करोड रुपैयाँको आईपीओ ल्याउन अनुमति मागेका छन् । लगानी समूहका तीन कम्पनीले २ अर्ब ८४ करोडको आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।
उत्पादन तथा प्रशोधन समूहका १५ कम्पनीले २२ अर्ब ६८ करोड तथा अन्य सेक्टरका १० कम्पनीले ३ अर्ब ३२ करोडको आईपीओ निष्कासनका लागि अनुमति मागेका छन् ।