पूर्वराष्ट्रपति भण्डारी भन्छिन् : आवश्यकताले खोजे दलीय राजनीतिमा फर्किन्छु

पूर्वराष्ट्रपति भण्डारी भन्छिन् : आवश्यकताले खोजे दलीय राजनीतिमा फर्किन्छु

विराटनगर, १४ माघ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रले खोजी भए दलीय राजनीतिमा पुनः सक्रिय हुने बताएकी छन् । जनतामावि इटहरीको वार्षिक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिले नै भने कुनै दलमा आवद्ध हुने निर्णयमा आफू नपुगेको उनको भनाइ छ ।

दलीय राजनीतिमा फर्कने र एमालेको अध्यक्ष बन्ने प्रयासमा रहे नरहेको भन्दै सञ्चारकर्मीले सोधेको प्रश्नमा भण्डारीले राष्ट्रको आवश्यकताले खोजी भए दलीय राजनीतिमा पुनः फर्कने बताएकी हुन् ।

आफू अहिले पनि राष्ट्रिय राजनीतिमा भने सक्रिय नै रहेको उनको भनाइ छ । ‘राष्ट्रपति पद गैरराजनीतिक पद होइन । राष्ट्रिय राजनीतिमा म सक्रिय नै छु । राष्ट्रिय राजनीतिका समग्र एजेन्डामा सबै पक्षहरूसँग छलफल गरिरहेको छु, शिक्षा, स्वास्थ्य, खानेपानी, जलवायु परिवर्नत, वैदेशिक रोजगारीमा जानुपर्ने युवाको बाध्यताजस्ता समस्या समाधानका लागि छलफल चलाइरहेको छु,’ उनले भनिन्, ‘ती एजेन्डा पूरा गर्न कुनै दलमा आवद्ध हुनुपर्‍यो भने त्यतिबेला निर्णय गर्नेछु ।’

दलीय राजनीति राजनीतिकमा सक्रिय हुने अवस्थामा एमालेमै जानुपर्ने उनको भनाइ थियो ।