विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयुभी’ दिपल ई ०७ सार्वजनिक, सुरूवाती मूल्य कति ?
काठमाडौं, १५ माघ । नेपालका लागि ‘फ्युचरिस्टिक’ तथा ‘लक्जरियस’ ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ ‘दिपल ई०७’ सार्वजनिक गरेको छ ।
अटोमोबाइल प्रविधिको ‘चमत्कार’ का रूपमा लिइने दिपल ई०७ लाई एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगन अटो एसिया प्यासिफिक उपाध्यक्ष गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रूपमा सार्वजनिक गरे ।
दिपल ई०७ ले रूपान्तरणीय क्षमता (ट्रान्सफर्मर क्यापाबिलिटी) मार्फत नयाँ ड्राइभिङ अनुभव प्रदान गर्दै अटोमोबाइल जगतमा नवीन अध्याय सुरुवात गरेको छ कम्पनीले जनाएको छ । यो एसयूभी एउटा बटन थिच्ने बित्तिकै पिकअप ट्रकमा परिणत हुन्छ । एसयूभी, पिकअप र क्याम्पिङ र आरभी (रिक्रिएसनल भेहिकल) सहित चार फरक प्रयोजनका लागि प्रयोग गर्न सकिने ई०७ ले लक्जरियस र इन्टिलिजेन्ट एडभेन्चर मार्फत ‘फ्युचरिस्टिक मार्भल’ का रूपमा स्थापित गर्ने एमएडब्लूले जनाएको छ ।
दिपल ई०७ ‘रियर ह्विल ड्राइभ’ र ‘अलह्विल ड्राइभ’ मा उपलब्ध छ । रियर ह्विल ड्राइभ भेरियन्टमा १९० किलोवाटको मोटर प्रयोग गरिएको छ, जसले २५८ पीएस पावर र ३६५ एनएम टर्क उत्पन्न गर्छ । यसमा ८९.९ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसले ५ सय ६६ किलोमिटरको सिंगल चार्ज रेन्ज दिने छ ।
त्यसैगरी अलह्विल ड्राइभ भेरियन्टले ४४० किलोवाटको पावर र ६४५ एनएम टर्क उत्पन्न गर्छ । २४० किलोवाट आवरसम्मको फास्ट डीसी चार्जमा जोड्न सकिने यो ईभी लामो यात्राका लागि तुरुन्त रिचार्ज गर्न सक्ने क्षमताको छ ।
ई०७ को ‘एरोडाइनामिक्स डिजाइन’ को ‘ड्रयाग कोफिसेन्ट’ ०.२३७ सीडी रहेको छ जसले यसको यात्रा आरामदायी बनाउँछ । त्यसैगरी यसको ‘वाटरवेडिङ’ क्षमता ६०० एमएम छ, जसले यसलाई खराब भूबनोटमा सहज यात्रा गराउने छ ।
५ मिटर लामो दिपल ई०७ को ह्विलबेस ३१२० एमएम छ, जसले यसलाई ‘स्पेसियस’ बनाएको छ । ‘क्याबिन एक्सपिरियन्स’ लाई बेजोड बनाइएको छ । यसमा ‘स्टाइलिस स्टार रिङ इन्टिग्रेटेड हेडलाइट, ‘स्लाइडिङ रियर डोम डिजाइन र ठूलो मल्टिफङ्सन रुफ र्याक छ, जसले ३ सय किलोसम्मको ‘लोड’ उठाउन सक्छ । त्यसैगरी यसमा १ सय ३१ लिटरको फ्रंक स्पेस, ६ सय किलो क्षमताको बुट र ‘अन्डर सिट स्टोरेज’ पनि छ ।
दिपल ई०७ मा प्रयोग गरिएको ‘सुपर ब्रेन सेन्ट्रल कम्प्युटिङ प्लेटफर्म’ ले ‘सिमलेस कन्ट्रोल’ र ‘रियलटाइम रेस्पोन्स’ दिन्छ । यसमा २८.८६ इन्च ‘अग्मेन्टेड रियारिटी हेडअप डिस्प्ले’ र १५.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ प्रयोग गरिएको छ जसले ‘ड्राइभिङ एक्सपिरियन्स’ लाई राम्रो बनाउने मात्र नभई सुरक्षित पनि बनाउने कम्पनीको भनाइ छ ।
सहज यात्रा र सुरक्षाका लागि यसमा ५ प्रकारको ‘क्रुज असिस्ट’, ४ वटा ‘पार्किङ असिस्ट’ फिचर र १४ ‘सेफ्टी प्रोटेक्सन सिस्टम’, ५ एमएमको ‘वेब राडार’, ५ वटा क्यामेरा र १२ वटा ‘अल्ट्रासोनिक राडार’ प्रयोग गरिएको छ । साथै, यसमा ५४० डिग्रीको ‘सराउन्ड भ्यु’ र ‘सी२ सेन्ट्रल कम्प्युटिङ’ छ, जसले ‘नेभिगेसन’ र पार्किङ आदिलाई सहज बनाउँछ ।
दिपल ई०७ मा ‘गोल्डेन बेल जार सीटीभी इन्टिग्रेटेड ब्याट्री’ प्रयोग गरिएको छ, जसले अत्यन्त चिसोमा पनि उत्कृष्ट ‘पर्फर्मेन्स’ दिने कम्पनीले जनाएको छ । ‘एडाप्टिभ आयल कुलिङ सिस्टम’ र ‘अल्ट्रा–थिन सिलिकन मोटर कभरिङ’ ले ब्याट्रीको ‘इफिसेन्सी, रिलायबिलिटी र इनर्जी सेभिङ’ मा मद्दत गर्छ । यसको ‘युनिक सुपर पावर सेभिङ मोड’ ले ड्राइभिङ रेन्ज अझ बढाउँछ ।
चीनको दोस्रो ठूलो अटोमोबाइल कम्पनी चांगानसँग १ सय ६३ वर्ष लामो विरासत (लिगेसी) छ । विश्वका १४ स्थानमा उत्पादन केन्द्र र ३४ स्थानमा प्लान्ट भएको चांगानले आविष्कार र दीर्घकालीनतालाई निकै महत्त्व दिँदै आएको छ ।
ई०७ को सार्वजनिकीकरण कार्यक्रममा एमएडब्लू वृद्धिका अध्यक्ष अग्रवालले नेपालको ईभी बजारमा दिपल एस०७ र एल०७ सफल भइसकेको र यसका लागि सबै ७ सय ५० ग्राहकप्रति आभार व्यक्त गरे ।
उनले दिपल ई०७ ले विश्व अटोबजारमा झैं नेपाली अटोबजारमा पनि नयाँ मापदण्ड स्थापित गर्नेमा विश्वस्त रहेको बताए । एमएडब्लू ग्रुपले बिक्रीपछिको सेवालाई पनि उत्तिकै महत्त्व दिएको उनले बताए ।
‘ग्राहक सन्तुष्टिका लागि एमएडब्लूले हरसम्भव काम गरिरहेको छ । अहिले देशका ९० भन्दा बढी स्थानमा एमएडब्लूका चार्जिङ स्टेसन छन् जुन नेपालमै सबैभन्दा ठूलो सञ्जाल हो,’ अग्रवालले भने ।
त्यसैगरी चांगान एसिया प्यासिफिक उपाध्यक्ष जिनले चांगान र दिपलले नेपालमा राम्रो प्रदर्शन गरिरहेको र नेपालमा विश्वस्तरीय उत्पादन दिन चांगान प्रतिबद्ध रहेको बताए ।
दिपल ई०७ सेतो, कालो, खरानी र हरियो गरी चार रङमा उपलब्ध छ । १ करोड ३ लाख ९९ हजार रुपैयाँ तोकिएको रियर ह्विल ड्राइभ ई०७ को सुरुवाती मूल्य केही समयका लागि ९९ लाख ९९ हजार कायम गरिएको छ ।
त्यस्तै अलह्विल ड्राइभको मूल्य १ करोड ९९ लाख ९९ हजार तोकिएको छ । हाललाई रियरह्विल ड्राइभ दिपल ई०७ चांगानका शोरुमहरूमा टेस्ट ड्राइभ तथा बुकिङका लागि उपलब्ध रहेको एमएडब्लू वृद्धिले जनाएको छ ।