अमेरिकाको विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्छ: उपमहासचिव ज्ञवाली

अमेरिकाको विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्छ:  उपमहासचिव ज्ञवाली

काठमाडौँ, १५ माघ । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी सहयोग रोक्ने निर्णयको प्रभाव नेपालमा पनि पर्ने बताएका छन् ।

अमेरिकी विदेश विभागले हाल सञ्चालनमा रहेका प्रायः सबै विदेशी सहायता कार्यक्रमहरू रोक्न र नयाँ सहायता अस्थायी रूपमा स्थगित गर्न निर्देशन दिएको थियो ।

प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले अमेरिकी सहयोग ९० दिनका लागि रोक्ने निर्णयको प्रभाव त्यति ठूलो नपरे पनि मातृ शिशु सहयोग र आप्रवासी निकालासम्बन्धी विषयले नेपाललाई प्रभाव पर्ने बताए ।

अमेरिका र चीनको व्यापार युद्धको प्रभाव नेपालमा पनि पर्ने भएकाले परराष्ट्र नीतिमा नेपालले सन्तुलन कायम राख्ने गरी वर्तमान सरकारले काम गरिरहेको ज्ञवालीको भनाइ छ ।