समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि प्रेरणा : उपराष्ट्रपति यादव

समृद्ध राष्ट्र निर्माणका लागि सहिदको साहस सबैका लागि  प्रेरणा :  उपराष्ट्रपति यादव

काठमाडौं, १६ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा सबल, सुदृढ र विकसितमुलुक निर्माणका लागि सहिदहरुको साहस सबैका लागि प्रेरणा भएको उल्लेख गरेका छन् ।

सहिद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, समावेशिता, सबैखाले विभेद्को अन्त्य, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन उत्सर्ग गर्ने सहिदहरुलाई स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उपराष्ट्रपति यादवले एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको उल्लेख गरेका छन । ‘सहिद दिवस हामीलाई सहिदहरूको सम्झना मात्र गराउने दिन होइन, हामीलाई उहाँहरूको मार्गदर्शन र प्रेरणाले अघि बढ्न प्रेरित गर्ने दिन पनि हो’, उनले भनेका   छन् ।

यस अवसरमा हामीले सहिदहरूको सपना पूरा गर्न, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न सङ्कल्प लिन सक्नुपर्ने उनको भनाइ छ । सहिद दिवसका अवसरमा सहिदको आदर्श र मूल्यलाई आत्मसात गर्दै, एकताको भावनालाई थप सुदृढ र बलियो बनाउँदै देशको प्रगति, विकास र समृद्धिको लागि दत्तचित्त तथा एकाकार भई मिलेर काम गर्न उपराष्ट्रपति यादवले आह्वान गरेका छन् ।