सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय
काठमाडौं, १७ माघ । माओवादी केन्द्रसहित संसद्का विपक्षी दलले सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छन्।
आज (बिहीबार) बिहान माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले अध्यादेश अस्वीकार गर्ने निर्णय गरेको हो। संसद्को हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ।
बैठकपछि माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले भोलीदेखि सुरु हुने संसद्को अघिवेशनमा विपक्षी दलले जनताको सरोकारहरुलाई सशक्त ढंगले उठाउने बताए।
उनले सरकारले ल्याएका अध्यादेशका विरुद्धमा एक भएर जाने निर्णय भएको जानकारी दिए।
‘सरकारले सदन बोलाउने बेलामा नै जसरी अध्यादेश ल्याएको छ, यो प्रक्रियाका हिसाबले पनि गलत छ,’ उनले भने, ‘संसदको अर्थ समितिमै छलफल भएको विधेयकलाई पनि मिनिमाइज गरेर अध्यादेश ल्याएको छ। यसमा सबै विपक्षी दलहरूले गलत भयो भन्ने निष्कर्ष निकालेका छौँ। हामीले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने निर्णय गरेका छौँ।’