ओखलढुंगामा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौंं, १७ माघ । ओखलढुंगामा बिहीबार बिहान टाटा सुमो दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
खोटाङबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको सुमो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो।
दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ।
ना १ ज ६४२१ नम्बरको सुमो खोटाङको कोपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं आउँदै थियो। सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले बिहान प्रहरीलाई जानकारी दिएपनि दुर्घटना राति नै भएको हुन सक्ने अनुमान गरिएको छ।
बिरामी मायालाई लिएर छोरा र बहिनी काठमाडौं आउँदै थिए। सुमोमा चालकसहित चार जना सवार थिए। चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन्।