राष्ट्रिय सभा बैठक चलिरहँदा सांसद नारायणदत्त भट्ट अस्वस्थ
काठमाडौं, २० माघ । राष्ट्रिय सभा बैठकमा चलिरहँदा नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट अस्वस्थ भएका छन् ।
बैठकको विशेष समयमा बोल्नका लागि नाम समेत टिपाएका सांसद बैठक सञ्चालन भइरहेकै अवस्थामा अस्वस्थ भएका थिए । उनी अस्वस्थ भएपछि कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले बैठकमा बोलेकी छन् ।
राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले यस विषयमा जानकारी गराउँदै सापकोटालई बोल्न समय दिएको बताए । ‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।
सांसद भट्टको संसद् भवनभित्रै उपचार भइरहेको छ । संसद सचिवालयका स्वास्थ्यकर्मी भीमराज सिंहले दिएको जानकारी अनुसार रक्तचाप र मधुमेहको समस्या देखिएका सांसद भट्टको स्वास्थ्य स्थिति अहिले सामान्य रहेको छ ।